Saturday, September 5, 2009

गोथेरी गाउँका सम्झनाहरु–१

वि स २०६४ साल अषाढ महिनाको अन्त्यतिर म आफ्नो गन्तव्यतिर होम्मिए।काठमाडौंदेखि डुम्रेसम्म माइक्रोबसमा चढेपछि चुँढिखोला पार गदै सालविस्ने पुगेँ।″आवादी बढ्नुअघि कुमालहरुले यस ठाउँलाइ गोठको रुपमा गाईभैसीं बाध्ने भएकोले गोठेरी नाम रहन गएको हो″ छविलाल बुढाले एकाविहान रक्सीको सुर्को लगाउँदै भनेका थिए।उनको भट्टी अगाडी अल्लारे केटाहरु स्टीलका गिलास समात्दै झुम्मिरहेका थिए। कोही गाँजा केलाउँदै पटर पटर बोल्दै थिए त कोही लामो सासले सुल्पा तान्दै धुवाँको मुस्लो यसरी निकाल्दै थिए कि मानौं भर्खरै त्याबाट रेल छुट्याजस्तो। सितनको नाममा राँगाको भुटन र भटमास थियो।


गन्धर्वहरुका छाप्रा रहेको यस बस्तीमा बच्चाहरुको संख्याचाहिँ अच्चमको थियो। एकामनले म गम खान्थे‚ हैन कसरी जन्माउन सकेहोलान यति धेरै भुराहरु?गाउँलेहरुका खान्की देख्दा पनि मन साह्रै पिरोलिन्थ्यो।त्यूनको नाममा फर्सीको मुन्टा अनि सुख्खा भात।खेतमा धेरै काम गर्ने भएकोले हो की सारङ्गी बजाउँदै गाउँसहर चहार्दै हिड्ने भएर‚ मान्छेहरु चाहिँ सबै काला।सेता छाला भनेको नै कुमालहरुका गाई।







सेता कुहिरोझैं देखिने ती अमिरिकानेहरु पनि नबसेका होइनन् यस बस्तीमा।काठमाडौंमा व्यापार गर्दै हिड्ने गाउँका दाईहरु ठमेलमा चहारिरहेका कुइरेहरुलार्इ पिछा गर्दै ″सर‚ दिस नेपाली सङ्ग ... भेरि गुड ... आई गिब इन थ्रि डलर″ भन्दै सारङ्गी भिडाउन खोज्दा रहेछन।व्यापार भने चाहि उस्तै: भए धाम नभए सर्वनाम।कहिलेकाहि कुइरेको पनि पैसा सकेर हो की क्याहो‚ दाईहरुसँगै गाउँ फर्कने जमर्को गर्दारहेछ।


गाउँमा अमेरिकाने आएको हल्ला रेडियो नेपालको समाचारभन्दा चाँडो फैलन्थ्यो।त्यो कुइरेले भुराहरु सोर्दै ल्याएको देख्दा हाँसका बथानझैं देखिने।कुइरिनी हुँदा त ठ्यामै त्यस्तै।आफ्नो वरिपरि त्यतिका मान्छेहरु कुर्कुराउँदा त्यो कुइरेलार्इ पनि अजम्बरी लाग्दाहो।बच्चाहरु चाहिँ टुटेफुटे इंलिस बोल्न पाउँदा हर्षले ठाउँ छाड्थे।″हेलो वात इज यू नेम?″ आदि इत्यादी।अत्यन्तै भौतिकवादी संसारमा हुर्केका यी घमन्तेहरुलाई मेलापात गर्नुपर्ने नेपाली जीवनको अनुभव गर्न आफैंमा रोमान्चक लाग्दोहो।


गाउँमा सहराँजस्तो खानेपानीको धारा नभएकोले मिले इनार नत्र कुवाबाट गाग्रीमा पानी ओसार्न पर्थ्यो।आँखै अगाडी धमिलो देखिने पानी पिउन सुरुमा मलाई साह्रै अफ्ठ्यारो लाग्यो।पछि त पिउनै पर्यो नि।गाग्री बोक्ने तरिका पनि बेग्लै हुदोँरहेछ।भाउजुहरु कम्मरमा पटुका बाँध्याझैं मिलाउथे भने दाईहरु कुममा बोक्थे।जिन्दगीमा कहिल्यै गाग्री बोक्न नपरेको म सहरी ठिटोलाई सुरुमा हम्मे हम्मे परेकोथ्यो।एक त कुममा अडाउने चिन्ता त्यहिमाथि हिड्दा ब्यालेन्स मिलाउनुपर्ने।जेहोस राम्ररी बोक्न ठ्यामै एक हप्ता लाग्यो।


गाउँका भाउजुहरुपनि साह्रै रसिला।घामले पश्चिमी डाँडासित अँगालो लगाउनासाथ हाम्रो जमघट सुरु हुन्थे।छविलाल बुढाले रक्सीमा पानी मिसाउन थालेपछि भाउजुहरुले ठूले गुरुङ्गकाँबाट मगाउन सुरु गरे।सितनको कथा बेग्लै छ।पल्लाघरे तामाङ्गेदाईले राँगा ढालेका दिन मासुका प्रकार चाख्न पाइन्थ्यो।नत्रभने उहि छविलाल बुढाकाँ पाईने राँगाका खुट्टा।सम्झन्दा आङ्ग जिरिङ् भएपनि खाँदा राम्रै थिए भन्नुपर्छ।छविलाल बुढाको च्याउरेका गालाभन्दा त चाम्रै थिए।


रक्सी लाग्दै गरेपछि मन मिलेमा दोहोरी हुने गर्थ्यो।सारङ्गी र मादलको प्रबन्ध भएपछि नाचगान सुरु हुन्थे।सो कुराको भान पाएपछि विस्तारै विस्तारै सारा गाउँलेहरु ठाउँ मिलाएर बस्थे।सहभागीहरु गोलबन्द भइ नाच्नेलाइ बीचामा राखेर ताली पड्काउँदै भाका मिलाउँथे।मभने दाइ र भाउजुहरुसित गिलास मुखामा लाउँदै हल्लन्थे।नाच्नचाहि त्यस्तै हो।हातहरु आकासतिर तेर्साउँदै सैनिकले परेड मार्याझैं खुट्टा उचाल्ने।वरिपरिका गलल्ल हाँसेपछि लाज लाग्थ्यो।हैन नाचगान गर्न कति जानेका यी गाउँलेहरु भनेर दङ्ग पर्थे म।″माझीदाई पोखरा फेवातालको‚ लाउ माया ... ″

2 comments:

  1. Tshering Yodin SherpaOctober 23, 2009 at 4:44 AM

    Wonderful memories!!!Ani it sounds soooooo sweet that u tried n succeeded to carry Gagri..he he..

    ReplyDelete
  2. Thanks Tshering.

    Please do not feel hesitant to drop in some comments too.

    Cheers !

    ReplyDelete